Active Members

15,000+ Youth

Discussions

1,200+ Active

Upcoming Events

8 This Month

शव बन्धकदेखि खेत फिर्तासम्म : हरी मोहन मुखियाको पीडा र मधेशको सामूहिक विजय

By Admin September 27, 2025 78 views General

शव बन्धकदेखि खेत फिर्तासम्म : हरि मोहन मुखियाको पीडा र हाम्रो सामूहिक संघर्ष

यी दुई महिना हाम्रो लागि केवल समयको यात्रा थिएन, यो हाम्रो संवेदनाको परीक्षा थियो।

सिरहा जिल्ला, लहान–२३ निवासी हरी मोहन मुखिया — हाम्रो गाउँको, हाम्रो मधेशको, दलित समुदायको इज्जत बोकेको नाम। काठमाडौंको KMC Hospital मा उपचाररत उहाँको अवस्था गम्भीर हुँदै गयो। अन्ततः, उपचारको क्रममा उहाँ हामीबाट टाढा जानुभयो। तर, मृत्युले ल्याएको पीडा मात्र पर्याप्त थिएन, अस्पतालले रु. १ लाख ५० हजार बाँकी बिलको कारण उहाँको शव बन्धक राख्यो।

त्यो शव केवल शव थिएन — त्यो हाम्रो मधेशको इज्जत थियो, हाम्रो सिरहा जिल्लाको प्रतिष्ठा थियो, दलित समुदायको सम्मान थियो।

शव बन्धकको यो अपमान म सहन सकिनँ। मैले आफूलाई नेता भन्नेहरूलाई सम्पर्क गरेँ, तर कोही आएनन्। हामीलाई साथ दियो भनेका त हाम्रा सर्वसाधारण जनता, हाम्रो दलित समुदाय, र जिल्लावासी मात्र थिए।


हामी बिहानदेखि अस्पतालको चक्कर काट्यौं, आशा र निराशाको बीचमा दौडियौं। अन्ततः, सामाजिक सञ्जालमा यो पीडा सार्वजनिक गर्न बाध्य भयौं। जनमतको दबाब बढ्दै गयो, अनि अस्पतालले शव हस्तान्तरण गर्‍यो। त्यो क्षण हाम्रो आँसु र राहत मिसिएको ऐतिहासिक पल थियो।

शवलाई सम्मानपूर्वक लहान पठाउन हामीले साथीभाइबाट सहयोग संकलन गर्‍यौं। सहयोगको श्रृंखला यतिमा रोकिन्छ भन्ने लाग्यो, तर यो कथा अझ लामो थियो। उपचारको क्रममा हरी मोहनज्यूले आफ्नै खेत बेचेका थिए — त्यो खेत फिर्ता गर्नु हाम्रो अर्को प्रतिज्ञा बन्यो।

आज, गर्वका साथ भन्न सक्छु — हामीले खेत फिर्ता गर्‍यौं। केही ऋण मिनाहा भयो, र अहिलेसम्म जम्मा रु. ५ लाख ९१ हजार सहयोग संकलन गरेर पिडित परिवारलाई हस्तान्तरण गरिसक्यौं।

यो केवल सहयोगको रकम मात्र होइन — यो हाम्रो मधेशको आत्मसम्मान हो, यो प्रमाण हो कि जब जनताले हात मिलाउँछन्, असम्भव पनि सम्भव हुन्छ।

हामीले एउटा शव बन्धक मुक्त गरायौं, खेत फिर्ता गरायौं, र पिडित परिवारलाई नयाँ सुरुवातको आधार बनाइदियौं। 



Admin

Contributor to YouthVoice Nepal, passionate about youth engagement in politics and social change.